क्षितिज
कहा बाट सुरु कहाँ छ अन्त्य यो दुखी जिबनको भन्नलाई त भन्छन दुई दिनको जिन्दगी तर मलाई यही जिबन पनि अत्यारलाअग्दो भो ........
06 January 2012
02 September 2011
मुलुकले दौरा-सुरुवाल नलगाउने दोस्रो प्रधानमन्त्री पाएको छ।
मुलुकले दौरा-सुरुवाल नलगाउने दोस्रो प्रधानमन्त्री पाएको छ। मा'वादीले यस पोशाकलाई
शाह राजाहरूसित जोडेर बहिष्कार गरेका होलान्। सबै कुरालाई ऐतिहासिक आँखाले हेर्ने
मा'वादी आफू औपचारिक देखिनु पर्दा टाई बाँध्छन्,तर उनीहरूले यी दुवै परिधानको
इतिहास बुझेजस्तो लागेन। सत्रौं शताब्दीको तीसवर्षे लडाईंमा फ्रेन्चका तर्फबाट
लड्ने क्रोएसियन मर्सिनरीहरूले घाँटीमा बाँध्ने टालोबाट विकसित हुँदै आएको टाई
उनीहरूका लागि गतिलो भयो, तर नेपालका धेरै समुदायले कम्तीमा एक शताब्दी अघिदेखि
आत्मसात् गरेको दौरा-सुरुवाल सामन्ती पहिरन! कसको के लाग्छ र!
मुलुकको ३५औं प्रधानमन्त्री
झ्लनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफ्नै अध्यक्ष पुष्पकमल दाहालले छापामार शैलीमा सातबुँदे सहमति गर्दा डा. भट्टराईले पार्टी निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए। उनको तर्क थियो― “बहुमतीय अभ्यासबाट शान्ति र संविधान सुनिश्चित हुनसक्दैन।”
सहमतिको नारा, बहुमतको सहारा!
भट्टराईका कुरा गलत थिएनन्। सर्वत्र असफलता र आलोचना बेहोर्दै पार्टीभित्र समेत टिक्न नसक्ने स्थितिमा खनालले राजिनामा दिएपछि पनि भट्टराईले राष्ट्रिय सहमतिको सरकारकै वकालत गरिरहे, तर पछि आफैँले दुत्कारेको बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री बने। सहमतिको ढोका खुल्दानखुल्दै माओवादी अध्यक्ष दाहालले स्थायी समितिको बैठकबाट बहुमतीय सरकारको प्रधानमन्त्रीका लागि पनि डा.भट्टराईलाई नै उम्मेदवार बनाउने निर्णय गराएकै दिनदेखि उनको नैतिक पराजय शुरु भएको हो।
यसबीच पटक-पटक आफू बहुमतको प्रधानमन्त्री नबन्ने घोषणा गरेका डा. भट्टराई त्यसमा अड्न नसकेको मात्र होइन, एमाले र काङ्ग्रेसले आफूलाई समर्थन नगरे पनि फरक नपर्ने प्रतिक्रिया समेत दिन पुगेे। यस आधारमा झ्लनाथ खनाल र उनमा समानता देखिएको छ। माधवकुमार नेपालको नेतृत्वमा आफ्नै पार्टीको सुविधाजनक बहुमतको सरकार छँदाछँदै खनालले राष्ट्रिय सहमतिको सरकारको नारामा नेपाललाई राजिनामा दिन बाध्य पारे र बहुमतीय सरकारलाई नर्क-कुण्डको संज्ञा दिँदै त्यसविरुद्ध सात महिना चट्टानी अडान लिए। तर, पछि स्वयम् त्यसमै हाम्फाल्दै सिंहदरबारमा तस्बिर टाँगेर फर्किएका छन्। र, पदका लागि आफ्नै प्रतिबद्धता कुल्चिएर जुन बाटो अवलम्बन गरे डा. भट्टराईले त्यही नियति बेहोर्नु नपर्ला, भन्न सकिन्न।
शृङ्खलाबद्ध राजनीतिक क्षति
माओवादीमा बौद्धिक नेताका रूपमा स्थापित डा.भट्टराई अरू राजनीतिक शक्तिको विश्लेषणमा पनि चुकेका छन्। कतिपय सतही बुद्धिजीवीले जस्तै नेपाली राजनीतिमा नेकपा (एमाले)को उपादेयतामाथि प्रश्न उठाउँदै दुइटा मात्र राजनीतिक शक्तिको कल्पना गरेर उनले एमालेलाई तेस्रो लिङ्गीको संज्ञा दिए र आफ्नो पार्टी र काङ्ग्रेस मिल्ने हो भने मुलुकका सबै समस्या समाधान हुने विश्लेषण गरे।
डा. भट्टराईको त्यो विश्लेषण मुलुकको राजनीतिक यथार्थभन्दा टाढा रहेको घटनाक्रमले पुष्टि गरेका छन्। परम्परागत नेपाली वर्ग र विचारको प्रतिनिधित्व गर्ने काङ्ग्रेससँग उग्रवामपन्थी धङधङीबाट मुक्त नभइसकेको माओवादीको सहकार्य सम्भव देख्ने तर मध्यमार्गी एमालेलाई बाधकका रूपमा चित्रित गर्ने त्यो विश्लेषण सही थियो भने उनले यसपटक काङ्ग्रेस-माओवादी मोर्चाबन्दी गर्न सक्नुपर्थ्यो।
तात्कालिक राजनीतिक लाभ-हानिका आधारमा गरिएको उनको विश्लेषण कति कोरा रहेछ भन्ने अहिले प्रधानमन्त्री निर्वाचनमा काङ्ग्रेस-एमाले विपरीत ध्रुवमा उभिनु र दलीय गठबन्धनमा त्यसको प्रभाव पर्नुले पनि छर्लङ्ग पार्दछ। दल र नेताहरूबीच परस्पर प्रतिस्पर्धा तथा आफूलाई उँचो देखाउने प्रयत्न हुन्छ। तर, त्यसक्रममा कुनै कुरालाई सिद्धान्तकृत गर्दा आफैँ त्यसको जालमा फँस्ने खतराबाट मुक्त हुनसक्नु नै असल राजनीतिकर्मीको गुण हो। डा. भट्टराई यसमा चुकेका छन्। अरूलाई आरोप लगाउन र छुद्र वचन बोल्न उनी दाहालभन्दा कम देखिँदैनन्।
डा. भट्टराईको राजनीतिक जीवनमा अर्को क्षति पनि हुनपुगेको छ। अध्यक्ष दाहाल र आफूलाई मात्रै क्रान्तिकारी दाबी गर्ने उपाध्यक्ष मोहन वैद्य पक्षधरले बेला-बेलामा साइजमा ल्याउन उनलाई लगाउने गरेको आरोप हो― भारतपरस्त। संयोग मात्र हो या एउटै तीरले दुई सिकार गर्न माहिर पुष्पकमल दाहालको योजना, उतैको रिमोट कन्ट्रोलबाट चल्ने आरोप खेपिरहेका मधेशी दलहरूले प्रधानमन्त्री निर्वाचनमा भट्टराईलाई एकाएक काँध थापेका र जवाहरलाल नेहरू विश्वविद्यालयका स्कलर बाबुराम भट्टराई सजिलै नेपालको ३५औं प्रधानमन्त्री निर्वाचित भएका छन्। कारण जेसुकै भए पनि त्यसको मार भट्टराईले खेप्नुपर्नेछ।
एकछिनलाई कल्पना गरौं― मधेशका साना-ठूला सबै दलले रामचन्द्र पौडेललाई मत दिएर उनी प्रधानमन्त्री निर्वाचित भएको भए अहिले नेपालमा विदेशी हस्तक्षेप, खासगरी भारतीय भूमिकाका बारेमा कति प्रश्न उठाइन्थ्यो र माओवादी नेताहरूले फेरि एकपटक राष्ट्रिय स्वाधीनता र आफ्नो निर्णय आफैं गर्न पाउने अधिकारका बारेमा कति पट्यारलाग्दा भाषण गर्ने थिए होला!
फेसबुक, ट्वीटर, ब्लग, एसएमएस र मत सर्वेक्षणमा अरूभन्दा डा. भट्टराई अघि देखिनुका पछाडि उनको नामका अगाडि झुण्डिएको डाक्टर उपाधि र पढाइमा कहिल्यै दोस्रो नभएको विगतले काम गरेको छ। नौ महिना अर्थमन्त्री हुँदा केही अर्ब रुपैयाँ बढी राजस्व उठाएकै कारण हाई-हाई गर्ने हो भने पनि उनीपछि अर्थशास्त्रको सामान्य ज्ञान समेत नभई आएका सुरेन्द्र पाण्डेलाई हेरे पुग्छ। विशेषज्ञता एउटा विशेषता हुन सक्छ, तर राजनीतिमा जनाधार र साङ्गठनिक बललाई मुख्य आधार मानिन्छ। समकालीन नेताहरूमध्ये उनको साङ्गठनिक धरातल कमजोर छ। प्रधानमन्त्रीमा टिकिराख्न उनले पार्टीभित्र दाहालमाथि र सरकारमा अविश्वसनीय छवि भएका मधेशी दलहरूमा निर्भर हुनुपर्नेछ। यस्तो धरापका बीच उनीबाट अरूभन्दा भिन्न काम होला भन्ने अपेक्षा गर्नु बढी हुनेछ।
31 July 2011
राम्रो लागेको लेख
Tokyo MX TV मा जिज्ञान थापासंसारको सोलार उद्योगलाई नविन वैज्ञानिक आविष्कार दिन नागोयाको चुबू यूनिभर्सिटीमा कार्बनबारे रिसर्च गरिरहेका चितवनका डक्टर सुदीप अधिकारी र दिलीप घिमिरे जापानमा जीवनका रेखाहरु कोरिरहेका छन्। उनीहरुलाई आफू जन्मिएको देशप्रतिको सम्झना बेग्लै छ र अलि गहिरो छ। लाग्छ –नेपाल अलि शान्त भइदिए र जापानमा जत्तिकै नभएपनि राम्रो सेवा सुविधा भइदिए यो जापानमा गरिइरहेको रिसर्च नेपालमै गर्न सकिन्थ्यो र नेपालबाट संसारका लागि सुलभ नयाँ तरिका संसारभरका लागि जान्थ्यो।
जापानको प्रसिद्ध मित्सुबिसी कम्पनीमा प्रोजेक्ट मेनेजर पदमा रहेका कास्कीका डक्टर राम गिरी अचेल जापानमा विकासको नया र तीब्र तरिकाहरुबारे योजना बनाउछन्। जपानको निकै ठूलो यो कम्पनीका सोचहरु मार्फत जापान र संसारभरका विकसित देशहरुमा आफ्नो उत्पादन र लगानी पठाउछन् अनि मुनाफा भित्र्याउँछन्।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
जापान सरकारको एउटा प्रसारण –टोकियो एमएक्स टीभीमा हरेक शुक्रबार ढाका टोपी लगाएको एउटा नेपाली ठिटो नेपालबारे जापानी भाषामा बोलिरहेको देखिन्छ। उसको अघिल्तिर चन्द्रसूर्य अंकित नेपालको झण्डा फहराइरहेको हुन्छ र ऊ भनिरहेको हुन्छ सदा –सुन्दर देश मेरो नेपाल, जहा गौतम बुद्ध जन्मिएका थिए, जहा छ संसारको शीर सगरमाथा र जो विश्वकै पहाडी सौन्दर्य भएको एक स्वप्न मुलुक हो। धापाखेल, ललितपुरका जिज्ञान थापा यसैगरी नेपाल चिनाइरहेका छन्। उनी सकेसम्म आफ्नो देशमा भएका हिंसा, बन्द र हड्तालहरुलाई ढाकछोप गर्न खोजिरहेका देखिन्छन्। र सकेसम्म आफू जन्मिएको देशलाई सुन्दर, शान्त र स्वाभिमानी भनिरहेका हुन्छन्।
यी केही मात्र नामहरु हुन् जो संसारको अतिविकसित देश जापानमा छन् र जसको मूलथलो यो नेपाल हो। यस्तै अरु पनि नाम र नाकहरु छन् जापानमा जसले त्यो देशको उन्नतिका लागि र यो देशको चिनारीका लागि कुनै न कुनै रुपमा विशेष भूमिका निर्वाह गरिरहेका छन्। जसलार्ई भेटेर र देखेर गौरब लाग्छ जापानमा। अनि तिनको सोचाइ र नेपालमा गर्न सकिने उन्नति र प्रगतिका खाकाहरु हेरेर पनि लोभ लाग्छ –नागरिक लोभ।
अनि त्यो देश जापान : जसले नेपाललाई गरिरहेको प्रेम देख्दा लाग्छ –अलिकति नेपालित्व जापान जन्मिदै उसको भूगोलमा पनि खसेको थियो। राजधानी टोकियो नजिकै रहेको तामा नामको चिडियाघरमा हासीखुसी रहेका नेपालका एकसिंगे दुई गैडाहरु – बिक्रम र नारायणीलाई त्यो देशले गरेको प्यार र स्याहार अनि टोकियोबाट झण्डै ४ सय किलोमिटर टाढा तोयामाको तोगा गाउलाइ मुस्ताङको टुकुचेसग जोडेर र त्यस्तै बनाएर मितेरी गाउँ नाम दिएर गरिएको विकास : हेर्दा लाग्छ –संसारमा नेपाललाई अतिप्रेम गर्ने एउटा देश हो जापान। बिकटमा रहेको मितेरी गाउलाई उसले नेपाली शैली र शिल्पहरुमा सजाएको छ र पुग्ने जो कोहीलाई लाग्छ – म नेपालको मुस्ताङको टुकुचे गाउँमा छु।
यसरी हेर्दा जापान अतिसुन्दर र प्रिय छ नेपाल र नेपालीका लागि। तर, नहेर्दा पनि देखिने अर्को नाक पनि छ जापानमा नेपालीपन र नेपालीको। त्यो दुखद् र लज्जाजनक पनि छ।
झण्डै १५ हजार नेपाली रहेका त्यो देशमा धेरै नेपाली सपनाले मृत्युवरण पनि गरेको छ। खासगरि विद्यार्थी बनेर जाने अनि पढ्ने पनि पैसा पनि कमाउने सपना जोडेर र भाषा नै नजानेर, भूगोल र व्यवस्था नै नवुझेर जानेहरुको पीडा असाध्यै निराश लाग्दो छ जापानमा। अझ त्यसमा पनि नेपालीले नै नेपालीलाई अनेक प्रपञ्चमा ठगिइरहने प्रवृति देख्दा लाग्यो जापान आएर नेपालीले जापानी सभ्यता सिक्ने होइन, जापानमा आफ्नै पाराको प्रवृति छोड्ला जस्तो भएको रहेछ। कम्तीमा १२ लाख रुपियाँ तिरेर जापान गएको नेपाली विद्यार्थीले जब सोच्छ पैसा कमाउन आएको हूँ, पढ्न होइन भनेर त्यसपछि उसका दुर्दिन सुरु हुन्छन्। विद्यार्थीले हप्तामा २८ घण्टा मात्र काम गर्न पाउने नियम र हरेक दिन कक्षामा उपस्थित हुनै पर्ने बाध्यकारी जस्तो अर्को नियमका बीच उ सोचिरहेको हुन्छ पैसा कमाऊँ। र यो असम्भवजस्तै सत्य हो तैपनि नेपालीहरुको बाक्लो उपस्थिती देखिन्थ्यो जापानी भाषाकक्षाहरुमा। यस्ता विद्यार्थीहरुको सख्या दिनदिनै बढिरहेको छ जापानमा। र, यस्ता विद्यार्थीलाई लगेर काम पनि लगाइदिन्छु भन्ने नेपाली दलालहरुको चलखेल पनि उत्तिकै।
अनि यस्ता विद्यार्थीको पनि बेग्लाबेग्लै वर्ग छ जापानमा। पहिलो कमजोर वर्ग जापानमा भाषा सिकिरहेको छ र यस्तै पीडा भोगिरहेको छ। अर्को दोस्रो वर्ग पैसाका लागि गल्ती गरिरहेको छ। जस्तो भाषा जानेपछि पनि ऊ एकेडेमिक अध्ययनतिर लागेको छैन र कामको लोभका लागि भोकेश्नल कक्षामा पढिरहेको छ। अर्को तेस्रो वर्ग –जो उच्चअध्ययनमा साच्चै उचाइ लिइरहेको छ र अध्ययनको वास्तविक पहिचानमा छ।
अर्को वर्ग पछि जापानमा नेपालीको : जसको पद भान्छे वा कुक हो। नेपालबाट कुकको भिजामा जाने धेरै नेपाली छन् जापानमा। तर, केही बाहेक अधिकांशले रोटी पनि पकाउन जानेको छैन भन्थे उनीहरु नै। यस्ता कुकहरु जापानमा रहेका झण्डै दुई हजार नेपालीले सञ्चालन गरेका इण्डियन तन्दुरी रेष्टुरेण्टहरुमा आवद्ध थिए। यो पनि त्यस्तै प्रसंग हो कि : जापानमा नेपालीहरु इण्डियन खाना पाइन्छ भनेर लेखिएका रेष्टुरेण्ट चलाइरहेका छन्। त्यही बीच एनआरएन नागोयाका अध्यक्ष नीमा लामा भन्थे – मैले त होइन है, मेरो रेष्टुरेण्टको नाम नै सगरमाथा छ। केही यस्ता बाहेक अरु सवैजसो नेपालीहरुले सञ्चालन गरेको रेष्टुरेण्ट इण्डियन थिए। भन्थे –नेपाली खाना पाइन्छ भनेर के बेच्ने? नेपाली खाना संसारमा परिचित पनि हुनुपर्यो नि? बरु इण्डियन खाना चिन्छन् मान्छेहरुले त्यसैले यसो गरेका हौं।
जापानमा अर्को पनि एउटा काम गर्ने वर्ग छ नेपाली। जसलाई प्रशिक्षार्थी कामदार भनेर पठाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र अन्यबाट गएका यस्ता प्रशिक्षार्थी कामदारहरु त्यहाको कपडा उद्योगहरु, घर बनाउने स्काफोलिडङ लगायतमा काम गरिरहेका छन् र तिनले ठीकै खालको काम र दाम पाएका छन्।
अर्को वर्ग जापानमा नेपालको बदनाम गराइरहेको छ। थरीथरीका शरणार्थी भएर बसेका छन् मानिसहरु र तिनीहरु मुद्दामामिलामा छन् जापान सरकारसग। नेपालमा कुनै समय चलेकोजस्तो नाम थियो एउटा कलाकारको –जयन्त रेग्मी। उनले ठूलो पर्दाका थुप्रै फिल्महरु खेलेको बताए। तर, उनी त्यहाँ भनिरहेका थिए– मलाई नेपालमा माओवादी र अरु दलहरुसँग डर भयो। किनकी उनी राजावादी रे, राजावादीलाई नेपालमा मण्डले भनेर लखेटिरहेका छन् रे, त्यसैले उनी १५ दिने भिजिट भिजापछि जापानमा शरणार्थी भएका रे। उनको लामो समय जेलमा पनि बितेको रहेछ। तर, हामीसँग पनि उनी भनिरहेका थिए –मलाइ मण्डले भन्छन् नेपालमा र यसकारण मेरो जीवनको सुरक्षा छैन त्यहाँ : त्यसैले म यतै बस्न सरकारसग मुद्दा लडिरहेको छु। यस्ता अरु पनि थुप्रै अनुहारहरु छन् जापानमा कि : तिनीहरु कोही माओवादीपीडित भनेर शरणार्थी बनेका छन्, कोही राजावादीपीडित भनेर। जसहरुको जीवन गम्भीर पीडादायी छ र संकटपूर्ण।
यससगै जापानमा नेपालीको परिचय यो अर्थमा केही बिग्रिदो रहेछ कि : त्यहाँ रहेका नेपाली र तिनमा गलत मानसिकताको पनि विकास हुदै गएको रहेछ। जस्तो हामी जपानमै रहेका वेला टोकियो नजिकै साइतामामा अपहरणको एउटा घटना भयो र त्यसमा नेपाली परे। यसअघि पनि सविना महर्जन नामकी विद्यार्थी बेपत्ता भएको आज सम्म भेटिएकी रहिनछिन्। विद्यार्थीलाइ सामूहिक बलात्कारको अभियोगमा केही नेपालीहरु अहिले पनि जेलमा रहेछन्। यस्ता अरु पनि घटनाहरुमा नेपाली मुछिदो रहेछ र यसको परिणाम सवै नेपालीलाई परिरहेको रहेछ।
अर्को त्यस्तो बर्ग : जो बर्मा गए कर्मसगै, जापान गए ज्वाईंसगै भनेजस्तो जीवनशैली बिताइरहेको रहेछ। दर्जनौंको संख्यामा नेपालीले जापानी युवतीसँग विवाह गरेर जापान बसाइलाई सुरक्षित बनाएका रहेछन्। कतिपयले नेपालमा श्रीमती भएर पनि अर्को बिहे गरेर जापान बसाईलाई ढुक्क पार्न खोजेका रहेछन्। अनेक रुपमा जापान पुगेका नेपालीलाई लामो समय बसिइरहन भिजाको समस्या हुने भएकाले भिजाको आयू लम्ब्याउन नै मुख्यगरि बिहे हुने गरेको सत्य छ जापानमा। यसरि जापानको ज्वाई भएर बसेकाहरु धेरै जसो श्रीमती पीडित देखिन्थे। उनीहरु हरेक महिनाको कमाईको केही बाहेक सम्पूर्णजसो अंस श्रीमतीलाई नै वुझाउनु पर्ने बाध्यकारी अवस्था पोख्दै थिए। यो त्यस्तो बर्ग हो : जसलाई नेपाल फर्किएर काम गर्ने मन कम छ। र, यस्तो बर्गका केही सिमित नेपालीहरु नवधनाढय छन्। तिनले करोडौं सम्पती जोडेका छन् र यस्ता केही मानिसहरु –जो चाही नेपालमा कुनै न कुनै किसिमको सहयोग र सामाजिक काम गरिरहेका छन्।
जापानमा अर्कै प्रयोजनबाट गएका केही नेपालीहरु त्यहा पत्रकारितालाई पनि जोड्दै रहेछन्। नेपाल पत्रकार महासंघको शाखा पनि खुलेको रहेछ। र, त्यहाको पत्रकारिता अनलाइन केन्द्रित छ। व्यक्तिले सञ्चालन गरेको सामान्य ब्लगलाई पनि आधिकारिक न्यूज पोर्टल मानेर विस्वास हुने रहेछ। नेपालीबीच यस्ता ब्लगहरुको चर्चा बेग्लै थियो। कैले बिकीरणकुमार कैले बिकीरणकुमारीका नाममा निजी चरित्रहरुमा छेडछाड गरिने प्रवृति बढेको रहेछ। पैसा कमाएका वा केही प्रोफाइल बनाएकाहरुको चरित्र र प्रवृतिलाई खत्तम पार्ने खेल एउटा ब्लग वा साइटमा र त्यसको अर्को सस्करण वा अर्को प्रतिवाद, प्रहार अर्को ब्लग वा साइटमा हुँदोरहेछ। यसरी सकेसम्म यसले कुनै पनि व्यक्तिको चरित्रमा छेड हान्ने गलत संस्कारलाइ बढाइदिएको रहेछ। र, को विरुद्ध को कसरी लागिरहेको छ भन्ने थाहा पाउन सजिलो रहेछ। बिदेशमा बसेर पनि नेपाली नेपालीबीच कतिसम्मको मनमुटाव छ भन्ने थाहा पाउन खासगरी यस्ता ब्लगहरुले मुख्य भूमिका खेलेका रहेछन्।
अति फोहोरजस्तो राजनीतिक दुर्गन्ध जापानमा पनि फैलिरहेको छ नेपालीबीच। तँ माओवादी, तँ काग्रेस, त एमाले भनेर एकले अर्कोलाइ हिलो छ्याप्ने खेल यति फोहर छ कि : नेपालबाट गएका कोही पनि नेतालाई लिनका लागि एयरपोर्ट जादासम्म प्रतिस्पर्धा र गलत वादविवाद हुनेरहेछ। यस्ता दलेहरुको बेग्ला बेग्लै झुण्ड देख्दा लाग्थ्यो –यी सारा नेपालीहरु जापानमा राजनीति गर्न आएका रहेछन् नेपालको। यिनलाई नेपालमा राजनीति गर्ने ठाउ भएन छ क्यारे र यिनीहरु जापानमा नेपालको राजनीति सिकाउन आएका रहेछन्। नत्र उनीहरुलाइ थाहा थियो –नेपालका राजनीतिक दलका नेताहरुले के गरिरहेका छन् नेपालमा भन्ने। तर, पनि उनीहरु आफ्नो दलका नेताहरुलाई ए क्लासको टिकेट काटेर र स्टारवाला होटल बुक गरेर नेपालबाट बोलाइरहेका हुने रहेछन् : त्यो पनि चन्दा उठाएर। अनि नेपालबाट जापान पुगेका नेताहरु तिनै कर्यकर्ताको भीडमा उभिएर भन्नेरहेछ हाम्रो पार्टी भनेका यस्तो पार्टी हो, फलानोजस्तो होइन, तपाई जापानमा बसेका नेपालीहरुले हाम्रो पार्टीलाई भरमग्दूर सहयोग गर्नुपर्छ र तपाईहरु हाम्रो पार्टीका जेहेन्दारहरु……..यस्तै यस्तै। त्यसपछि नेतालाई घुमाउन तिनले पैसा संकलन गर्दारहेछन्। काम गर्न आएका देखि विद्यार्थी सम्मबाट। एक जना विद्यार्थीले हामीसँग भने – यो जापानमा आएर पनि पार्टीलाइ चन्दा दिनुपर्यो।
यस्तै यस्तै रहेछ जापानमा नेपालीहरुको नाक !
साभार माई संसार बाट
04 June 2011
राम्रो लागेको लेख
राजा वीरेन्द्र र अहिलेका नेता उस्तै
आज जेठ १९, राजदरबार हत्याकान्डको वार्षिकी। आजको दिन नेपाल मात्र हैन, विश्वको इतिहासले पनि एउटा भयावह हत्याकाण्डका लागि सदा याद राख्ने दिन हो। एउटा पूरा वंशको नाश भएको थियो आजैको दिन। माइसंसारले चार वर्षअघि यो हत्याकाण्डका विभिन्न पक्षहरु केलाउने प्रयास स्वरुप एक हप्तासम्म ‘भटट सप्ताह विशेष’ शीर्षकमा ब्लगहरु राखेका थियौँ। माइसंसारका नयाँ पाठकका लागि त्यतिबेला प्रकाशित पाहुना ब्लगर ZZ ले लेखेको एउटा विचारोत्तेजक ब्लगको पुनः प्रकाशन।
• ज्ञानेन्द्रको तुलनामा वीरेन्द्र धेरै उच्चकोटीका राजा थिए भन्न कुनै नेपालीले कन्जुस्याँई गर्दैनन्। तर यिनले देशलाई के योगदान गरे त? कुनै सशक्त चुनौति बेगर अकंटक २८ वर्ष शासन चलाउँदा पनि देश जस्ताको तस्तै, कुनै विकास भएन। बरु ४५औँ गरिब देशबाट हरिकंगाल भई दोस्रो गरीब देशको दर्जामा गनियो। के यो नालायकिपनको चरम नमुना होइन ?
• यो हत्याकाण्डपछाडि सामन्ती राजतन्त्रप्रति जनताको आस्था पनि तीब्र गतिमा स्खलित भयो। देशमा विकासको बाधक नै सामन्ती राजतन्त्र हो, यसैले जबसम्म राजतन्त्रको उन्मूलन हुँदैन तबसम्म देशले सही दिशा पक्डिन सक्दैन भन्ने चेतनाको तीब्र प्रसार गर्न यो हत्याकाण्ड पश्चात् नै सम्भव भयो।
• वीरेन्द्रको जडनेतृत्त्वको क्रमभङ्गता पश्चात परिवर्तनको गति तीब्र बनेर गयो। दरवार हत्याकाण्डपछाडि बचेखुचेका उत्तराधिकारीहरुले जनताको मनमा कुनै प्रभावशाली छाप छोड्न असमर्थ हुँदा पनि दरवारको साखमा कल्पना गरेभन्दा तीब्र गिरावट आएको कुरो पक्कै हो।
• अब एकैछिन नेपालको वर्तमान प्रमुख पार्टीहरुलाई हेरौँ। लगभग सबैजसो पार्टीहरुमा अहिले दरवार हत्याकाण्डको जरुरत परेको छ। सबै पार्टीहरुमा विगत लामो समयदेखि जड नेतृत्त्वले कब्जा गरेर बसेको छ। काँग्रेसमा देउवा, रामचन्द्र पौडेल, सुशील कोइराला आदि, एमालेमा माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा, प्रदीप नेपाल, खड्ग ओली आदि, माओवादीमा प्रचण्ड, बाबुराम, किरण, आदि। यो जड नेतृत्त्वले सँधै नेतृत्त्व ओगट्ने, समस्या समाधान नगर्ने, र आ-आफ्नो मृत्युमा दह्रो मलामी खोज्ने चालबाजी मात्रै खेलेर बस्दा रहेछन्। दशथरी नौटंकी देखाउँदै दोष अरुलाई थुपार्ने र हलो अड्काउने खेल खेल्नु नै यिनीहरुको राजनीति रहेछ। जनतालाई सुख सुविधा दिनु, जनताको दैनन्दिन समस्याको दीर्घकालीन समाधान खोज्नु, विकास गर्नु जस्ता कामहरु यिनको प्राथमिकतामा पर्दैन यदि भने राजा वीरेन्द्र र यी नेताहरुमा फरक नै के भो त?
राजा वीरेन्द्र र अहिलेका नेता उस्तै
- ZZ बाट -
दरवार हत्याकाण्डको पहिलो खबर पाउँदा शंकाको घेरामा माओबादी थियो, त्यस रातभरि टेलिफोनमार्फत यो खबर सबैतिर फैलिसकेको थियो। दिनदिनै बलियो हुँदै गएको माओबादीले दरबारभित्रै आक्रमण गर्न सकेछ भन्ने कुरो चलेको थियो साथीहरुमाझ, तर बिहानसम्ममा माओबादीको यस घटनामा कुनै संलग्नता नभएको कुरो आयो। त्यही दिन सेनाको एक स्रोतले दीपेन्द्रलाई दोष दिइसकेको थियो, तर रेडियोले स्वचालित हतियारको करामत भनेर फुक्न भ्यायो। पछि माओबादीले राजासित कार्यगत एकता भएको कुरा बताइरहँदा रामचन्द्र पौडेल हीरो बनेको थियो, किनकि उनैले एकपल्ट माओबादीहरु निर्मल निवासबाट सञ्चालित छन् भन्न भ्याएका थिए। अहिले महानायक बनेका गिरीजाको लोसे चालामाला र लाचारीपनसित आक्रोशित युवाहरु त्यो बेला कपाल खौरेर सडकमा उत्रिए भने तिनलाई तह लाउन कर्फ्यू नै लगाउनु परेको थियो। जनआन्दोलन-१ मा गुमेको छविलाई धुँदै पखाल्दै सर्वसाधारणको आदर जित्न सकेका वीरेन्द्र राजा रातारात महान राजा र जनप्रिय राजनेताको रुपमा दरिए। दीपेन्द्रका सम्भावित जाज्वल्यमान राजशाहीको असमयमै अवसान भएकोमा दु:खमनाउ गर्नेहरु पनि कम थिएनन्।
मेरो विचारमा वीरेन्द्र वास्तवमा एक नालायक राजा थिए। यो कुरो मैले पहिला पनि ब्लगमा कतै उल्लेख गरेको छु। शाह राजाहरु मध्ये सबैभन्दा धेरै शिक्षित, विवेकी, नेपालको गाउँगाउँ घुमेर जनताको दु:ख देखेका, विलासी दिनचर्यामा चासो नराख्ने, सबैको आस्था र आदर जित्न सफल, छिमेकी र मित्रराष्ट्रहरुको समेत दिल जित्न सफल राजा वीरेन्द्र शालीन ब्यक्तित्त्वका धनी थिए। ज्ञानेन्द्रको तुलनामा वीरेन्द्र धेरै उच्चकोटीका राजा थिए भन्न कुनै नेपालीले कन्जुस्याँई गर्दैनन्। तर यिनले देशलाई के योगदान गरे त? कुनै सशक्त चुनौति बेगर अकंटक २८ वर्ष शासन चलाउँदा पनि देश जस्ताको तस्तै, कुनै विकास भएन। बरु ४५औँ गरिब देशबाट हरिकंगाल भई दोस्रो गरीब देशको दर्जामा गनियो। के यो नालायकिपनको चरम नमुना होइन ? एउटा साधारण मेडिकल डाक्टर महाथिरले मलेसियालाई २० वर्षमा चरम गरिबीबाट मुक्ति दिलाए, के थियो महाथिरसित, मात्र विचार थियो, थोरै सहयोगीहरु थिए, देशभित्रको श्रोतसाधनलाई गरीब जनताको खातिर उपयोग गर्ने अठोट थियो। उनीसित कुनै सदभावी विदेशी मित्र पनि थिएन, एकअर्कालाई तीब्र घृणा गर्ने मलेय, चाइनिज र भारतीयहरु उनका वरीपरी थिए, सत्तालाई आफ्नै बनाउन षडयन्त्र गरिरहने ९-९ प्रान्तीय राजाहरु थिए, अशिक्षा र कुपोषणले ग्रस्त जनताहरु थिए। तर पनि ती सबैलाई मिलाएर उनले देशलाई उकासेर देखाइदिए। तर हाम्रा तथाकथित राम्रा राजा वीरेन्द्रको हकमा भन्ने हो भने, उनले जिन्दगीभरमा न त आफूले सिकेका राम्रा कुराहरुलाई प्रयोग गरे, न त आफूसित भएका अनुकूलताहरुको फाइदा नै उठाए।
नयाँ कुराहरु सिकोस्, संसारलाई बुझोस्, देशको विकास गरोस् भनेर उनलाई भारत, बेलायत, जापान, अमेरिका आदि मुलुकमा शिक्षा, उच्च शिक्षाको अवसर प्राप्त थियो। बीबीसीको अन्तर्वार्तामा सारा संसारलाई प्रभाव पार्ने कुरो बोलेका थिए, हरेक अन्तर्राष्ट्रिय मञ्चमा राम्रा भाषण दिए तर देशभित्र भने मौका पाएसम्म निरंकुश सत्ता चलाए। देशको दीर्घकालीन विकास हुने कुराहरुमा कुनै ध्यान पुर्याएनन्, फलस्वरुप नेपाल अविकसितको अविकसित नै रह्यो, नेपालीहरुले चरम दु;ख भोगेको भोग्यै गर्नु पर्यो। यी राजा वीरेन्द्र त यति निरीह र निर्दयी रहेछन् कि दरबार कै आडभरोसामा निर्दोष र निमुखा नागरिकहरुको हत्याहिंसा गर्दै खेलिएको राजनीतिक खेल र माओवादी जनयुद्धको समेत चुपचाप साक्षिकिनारा पो भइबसेका। हेत्तेरी, राजा पनि यस्तो हुन्छ कहीँ ? उनको हत्या जो सुकैले गरेको होस्, तर त्यो हत्या उनको कुशासनको प्रतिफल स्वरुप दु:ख पाएका र ज्यान गुमाउन परेका हजारौँ निर्दोष आत्माको श्राप पनि थियो होला शायद। यस्ता नालायक राजाको हत्या हुनु देशको लागि कुनै घाटा होइन भन्दाखेरी आफ्नै साथीहरुले समेत मेरो कुरो पचाउन गाह्रो माने त्यो बेलामा। (सार्वजनिक रुपमा त्यस्तो कुरो भनेको भए त्यो बेला शायद मैले रामधुलाई नै भेट्थे होला कि !!!)
मानौँ एकैछिनलाई, यो दरबार हत्याकाण्ड नभएको भए के हुन्थ्यो होला? जगजाहेर छ, हाल चरम राजतन्त्रविरोधी छवि बनाउन कसरतरत माओवादीले राजतन्त्रसित भित्री साँठगाँठ गर्दै गाउँगाउँमा कांग्रेस कम्युनिष्टका शीरच्छेदन अझै धेरै गर्थे होलान्, किनकि राजदरवार र माओवादीहरुको बीच कार्यगत एकता जो थियो। त्यसैपनि माओवादीले मारेका व्यक्तिहरुको बारे एक एक विश्लेषण गर्ने हो भने तिनीहरुले कति धेरै निर्दोष र इमान्दार काँग्रेस कम्युनिष्ट कार्यकर्ताहरुलाई बिना कारण सफाया गरेको छ भन्ने छर्लङ्ग हुन्छ। पूर्वपञ्च, राजाका कट्टर समर्थक, भ्रष्टाचार गरेर अकुत धन कमाउनेहरु जस्तालाई माओवादीले कहिल्यै पनि टार्गेट बनाएनन्। भविष्यले यस्ता गतिविधिको लेखाजोखा अवश्य गर्नेछ। तत्कालीन सरकारले पनि निकै धेरै निर्दोषहरुलाई नै माओवादीको नाममा मारेको छ, यसरी निर्दोषहरुलाई बलिको बोको बनाउँदै आ-आफ्नो राजनीतिक अभिष्टलाई पूरा गर्ने दुर्नियतपूर्ण खेल खेल्ने राजालाई एउटा अमूक ब्यक्तिको नेतृत्त्वमा भएको हत्याकाण्डले पाखा लगायो त के फरक पर्यो ? एउटा विचार नि।
अर्कोतर्फ यो हत्याकाण्डपछाडि सामन्ती राजतन्त्रप्रति जनताको आस्था पनि तीब्र गतिमा स्खलित भयो। देशमा विकासको बाधक नै सामन्ती राजतन्त्र हो, यसैले जबसम्म राजतन्त्रको उन्मूलन हुँदैन तबसम्म देशले सही दिशा पक्डिन सक्दैन भन्ने चेतनाको तीब्र प्रसार गर्न यो हत्याकाण्ड पश्चात् नै सम्भव भयो। सामन्ती राजतन्त्रलाई धुरिखाँबो बनाएर एक वर्ग, एक जाति, एक भाषा, एक भेषको पेवा झैँ खडा गरिएको सामाजिक संरचना नै गलत रहेछ भन्ने चेतना विस्तार गर्न पनि बाटो खुल्यो। आज आएर वीरेन्द्रको वंश नष्ट भएकोमा पश्चाताप मान्ने कुनै वर्ग, शक्ति वा समूह यदि छ भने त्यो त्यहि प्रतिक्रियावादी समूह हुनु पर्दछ जसले सामन्ती राजतन्त्रलाई नै अनेक बहानाबाजी गरेर मलजल गर्ने गर्दछ। त्यही हत्याकाण्डपश्चात् देशको नेतृत्त्वमा शताब्दियौँसम्म लगातार छाएर परिवर्तन र नयाँ विचारको प्रवाहलाई रोकेर बसेको सामन्ती नेतृत्त्वको पछिल्लो २८-वर्षे कडी टुक्रिएपछि त्यसको विरोधमा विद्रोह बोल्नेहरुलाई निकै सजिलो भएको कुरो निर्विवाद छ। वीरेन्द्रको जडनेतृत्त्वको क्रमभङ्गता पश्चात परिवर्तनको गति तीब्र बनेर गयो। दरवार हत्याकाण्डपछाडि बचेखुचेका उत्तराधिकारीहरुले जनताको मनमा कुनै प्रभावशाली छाप छोड्न असमर्थ हुँदा पनि दरवारको साखमा कल्पना गरेभन्दा तीब्र गिरावट आएको कुरो पक्कै हो। यसरी हेर्दा दरवार हत्याकाण्डले देशलाई प्रतिक्रियावादी अवस्थितिबाट प्रगतिशील धारतिर डोर्याउन धेरै नै सकारात्मक योगदान दिएको जस्तो लाग्छ।
अब एकैछिन नेपालको वर्तमान प्रमुख पार्टीहरुलाई हेरौँ। लगभग सबैजसो पार्टीहरुमा अहिले दरवार हत्याकाण्डको जरुरत परेको छ। सबै पार्टीहरुमा विगत लामो समयदेखि जड नेतृत्त्वले कब्जा गरेर बसेको छ। काँग्रेसमा देउवा, रामचन्द्र पौडेल, सुशील कोइराला आदि, एमालेमा माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा, प्रदीप नेपाल, खड्ग ओली आदि, माओवादीमा प्रचण्ड, बाबुराम, किरण, आदि। खै चलायमान नेतृत्त्व कहाँ छ? कुन पार्टीमा छ? यो जड नेतृत्त्वले सँधै नेतृत्त्व ओगट्ने, समस्या समाधान नगर्ने, र आ-आफ्नो मृत्युमा दह्रो मलामी खोज्ने चालबाजी मात्रै खेलेर बस्दा रहेछन्। दशथरी नौटंकी देखाउँदै दोष अरुलाई थुपार्ने र हलो अड्काउने खेल खेल्नु नै यिनीहरुको राजनीति रहेछ। जनतालाई सुख सुविधा दिनु, जनताको दैनन्दिन समस्याको दीर्घकालीन समाधान खोज्नु, विकास गर्नु जस्ता कामहरु यिनको प्राथमिकतामा पर्दैन यदि भने राजा वीरेन्द्र र यी नेताहरुमा फरक नै के भो त? बाँचुञ्जेल यिनले मस्ती गर्ने, मुखले राम्रो र चिप्लो कुरो गर्ने तर देशलाई कुनै गतिलो योगदान नदिने हो भने यिनलाई पनि वीरेन्द्रलाई जसरी नै राजनीतिको मैदानबाट हटाउने दरबार हत्याकाण्डको शिकार बनाउँदा नै राम्रो हुने भो नि। तर यिनीहरुलाई राजनीतिको मैदानबाट हटाउन दरबारमा प्रयोग भएको घातक एम १६ जस्ता हतियार नभैकन हरेक पार्टीभित्रका युवा कार्यकर्ताहरुको शक्ति प्रयोग हुन जरुरी छ। रक्तपातपूर्ण हत्याहिंसा होइन रक्तपातविहीन प्रजातान्त्रिक प्रक्रियाद्वारा जड नेतृत्त्व कायम रहने प्रथाको हत्या गरिनु पर्दछ। दरबार जस्तो पार्टीभित्र हुने त्यस्तो हत्याकाण्डको माध्यमबाट हरेक पार्टीहरुमा राजा झै हालिमुहाली चलाइबसेका त्यहाँका जडनेतृत्त्वलाई उखेलेर फाल्ने प्रक्रियालाई संस्थागत गर्नु जरुरी छ। जडनेतृत्त्वलाई चुनौती दिनसक्ने युवा नेतृत्त्व र नवीन विचारहरुलाई प्रोत्साहन गर्ने प्रजातान्त्रिक परिपाटी पार्टीरुपि दरबारहरुभित्र नबसुञ्जेल हाम्रो देशलाई वीरेन्द्रप्रवृत्तिले छोड्ने छैन। राजा पपुलर, जनता कंङ्गाल — नेतालाई मस्ती कार्यकर्ता र जनतालाई सास्ती। यस्ता नेताबाट मुक्ति पाउन पार्टीरुपी दरबारभित्रै घटना-दुर्घटना हुनु जरुरी छ। जबसम्म ती दरबारहरुमा राजा वीरेन्द्र जस्ता नेताहरु रहन्छन् तबसम्म रक्तपातविहीन दरवार हत्याकाण्डहरुको आवश्यकता पनि रहिरहने छ।
साभार: माई संसार



